अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दक्षिण चीन सागरमा दुर्घटना

काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान आइतबार दिउँसो दक्षिण चीन सागरमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेका छन् । यी घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमण र चिनियाँ समकक्षी सी चिनफिङसँगको महत्वपूर्ण वार्ताको पूर्वसन्ध्यामा भएका हुन्। दुवै दुर्घटनामा चालक दलका सबै सदस्यहरूलाई सुरक्षित उद्धार गरिएको छ।
सिएनएनका अनुसार आइतबार दिउँसो २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उडानका क्रममा दक्षिण चीन सागरमा खसेको थियो। नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा तीन जना चालक दलका सदस्य थिए, जसलाई सकुशल उद्धार गरिएको अमेरिकी नौसेनाले पुष्टि गरेको छ।
हेलिकप्टर दुर्घटना भएको करिब आधा घण्टापछि, दिउँसो सवा ३ बजेतिर फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो। लडाकू विमानमा रहेका दुई जना चालक दलका सदस्यलाई पनि सुरक्षित रूपमा उद्धार गरिएको सिएनएनले जनाएको छ।
दुवै विमान युएसएस निमित्ज नामक विशाल युद्धपोतबाट उडाइएको थियो। यी दुर्घटनाका कारणबारे नौसेनाले छानबिन सुरु गरिसकेको छ।
दक्षिण चीन सागर, जहाँ यो घटना भएको छ, चीनसहित विभिन्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले आफ्नो दाबी गर्दै आएका छन्। बेइजिङले करिब सम्पूर्ण समुद्री क्षेत्रमाथि आफ्नो स्वामित्व दाबी गरे पनि अन्तर्राष्ट्रिय अदालतले यसअघि नै चीनको दाबी अस्वीकार गरिसकेको छ। विगत दुई दशकमा चीनले यस क्षेत्रमा सैन्य पूर्वाधारहरू निर्माण गर्दै आएको छ, जसलाई अमेरिकी नौसेनाको स्वतन्त्र आवागमनको प्रयासमा चुनौतीको रूपमा लिइन्छ। अमेरिकी नौसेनाका अभ्यासहरू वाशिङ्टनको चीनको समुद्री प्रभावलाई सन्तुलनमा राख्ने दीर्घकालीन रणनीतिको अभिन्न अंग हुन्।
यी दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसिया भ्रमणकै बीचमा भएका हुन्, जहाँ उनले यसै साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार केन्द्रित वार्ता गर्ने कार्यक्रम छ।
स्मरण रहोस्, यसअघि वसन्त ऋतुमा पनि अमेरिकी नौसेनाका दुई सुपर हर्नेट जेट रेड सागरमा हराएका थिए। नौसेनाका अनुसार एक सुपर हर्नेटको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्छ।
विश्वकै सबैभन्दा ठूलो युद्धपोतमध्ये एक मानिने ‘यूएसएस निमिट्ज’ अमेरिकी नौसेनाको सबैभन्दा पुरानो विमानवाहक युद्धपोत हो, जसलाई आगामी वर्ष सेवा निवृत्त गरिने तयारी रहेको सिएनएनले जनाएको छ।








