छठपछि देशमा ठूलो परिवर्तन : प्रचण्ड (भिडिओ)

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्व लगत्तै वामपन्थी एकताले नयाँ मोड लिने दाबी गरेका छन् । जनकपुरधाममा बुधबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चामा आबद्ध दलहरू एकता प्रक्रियामा अग्रसर रहेको बताएका हुन् ।
प्रचण्डले छठपछि वामपन्थी एकताको नयाँ परिस्थिति देखिने उल्लेख गर्दै निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए । सरकारले निर्वाचनको वातावरण बनाउन गम्भीरतापूर्वक लाग्नुपर्ने उनको भनाइ थियो । उनले मंगलबार संसदीय दलहरूसँग भएको सरकारी वार्ताले सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास भएको बताए ।
‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ,’ प्रचण्डले भने, ‘हिजोमात्रै संसदीय दलहरूसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभास त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो । जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ। काठमाडौं उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ। वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको ।’
प्रचण्डले जेन–जी आन्दोलनपछि मधेश प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गरेका हुन् ।








