राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौँ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि खडा गरिएका चुनौतीहरूको सामना गर्न एकताबद्ध नेपाली शक्ति नै मुलुकको मूल आधार भएको बताए । नेपाल संवत् ११४६ को नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रहितका लागि नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

बुधबार जारी शुभकामना सन्देशमा अध्यक्ष ओलीले भने, ‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ हो । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनु हाम्रो कर्तव्य हो ।’ उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको स्मरण गराए  ।

अध्यक्ष ओलीले नेपालको अनुपम विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा परिणत गर्दै सद्भावको सुगन्ध फैलाउनु आजको आवश्यकता रहेको औंल्याए । उनले राष्ट्रमाथि आइपरेका चुनौतीहरूको सामना गर्न सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरे ।

‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं,’ अध्यक्ष ओलीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, ‘सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामनासहित, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =