प्रधानमन्त्री कार्कीलाई बैठक र भेटघाटको चटारो

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री सुशीला कार्की यतिबेला चर्को कामको चाप र भेटघाटको चटारोले ‘हैरान’ भएकी छन् । प्रधानमन्त्री कार्कीको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले जेनजी समूहको निरन्तरको दबाब र भेटघाटको तालिकाका कारण आफूले निद्रासमेत पूरा गर्न नपाएको गुनासो गरेकी हुन् ।
ती नेताका अनुसार, प्रधानमन्त्री कार्कीले बैठकमा आफूलाई जेनजीका कारण ‘हैरान’ भएको र कामको चाप यति बढेको छ कि ‘सुत्नसमेत नपाएको’ बताइन् । राति २ बजेदेखि बिहान १०-१२ बजेसम्म लगातार बैठकहरू बस्ने गरेको र त्यसले गर्दा आराम गर्ने समयसमेत नपाएको उनको भनाइ थियो ।
उनको आफ्नो दैनिक कार्यतालिका व्यस्त र दबाबपूर्ण रहेको खुलाइन् । ‘जेनजीका मान्छेहरू सिधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्न खोज्छन् र अन्य नेताहरूलाई बेवास्ता गर्छन्,’ ती नेताले भने, ‘यसले प्रधानमन्त्रीलाई निकै चाप परेको कुरा उहाँले बैठकमा राख्नुभयो ।’
बैठकमा प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा चुनाव सम्पन्न गराउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै दलहरूले चुनावको वातावरण नबनाइदिएकोमा असन्तुष्टि व्यक्त गरिन् । ‘तपाईँहरूले चुनावको वातावरण बनाइदिनु भएन भने म कसरी चुनाव गराउन सक्छु र ?’ उनले दलका नेताहरूसँगको छलफलमा प्रश्न गरिन् ।
प्रधानमन्त्रीले जेनजीका प्रतिनिधि र अन्य दलका नेताहरूलाई एउटै मञ्चमा राखेर छलफल गराउने आफ्नो इच्छासमेत व्यक्त गरेको ती नेताले बताए । प्रधानमन्त्री भएको ४० दिनपछि कार्कीले मंगलबार दलहरूसँग औपचारिक रुपमै संवाद गरेकी हुन् ।








