नेपाल आइपुग्यो विपिन जोशीको पार्थिव शरीर (तस्बिरहरू)

काठमाडौँ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ ।
सोमवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको शवमा प्रधानमन्त्रीसहितका उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरे ।
प्रधानमन्त्री कार्कीले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । विमानस्थलमा आयोजित शोकसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि इजरायली राजदूत लगायत पुगेका थिए ।
जोशी लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्यो । आक्रमणका क्रममा १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाले ज्यान गुमाए । बङ्करमा रहेका साथीहरूको ज्यान जोगाउन साहसका साथ लडाकुले हानेको ग्रिनेड टिपेर बाहिरै फ्याँकेका विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू:









