आँचल मृत्यु प्रकरण: ५ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा चिनिएकी आँचल नाथको रहस्यमय मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । जिल्ला अदालत काठमाडौँमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले गहन अनुसन्धानपश्चात् उक्त मुद्दा अघि बढाएको हो ।

प्रहरीका अनुसार, नरेफाँटका २६ वर्षीय सञ्जु विक, अनु भनिने उर्मिला विक, सरु भनिने सरस्वती भण्डारी, २२ वर्षीय राजेश बुढा र लक्ष्मी बुढालाई प्रतिवादी बनाइएको छ । यसमध्ये सञ्जु विक मात्र पक्राउ परेका छन् भने बाँकी चार जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।

केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी र मोडलिङमा सक्रिय आँचल, दुई वर्षअघि जापानी भाषा अध्ययन गर्न गाउँबाट काठमाडौँ आएकी थिइन् । उनी भक्तपुरमा डेरा गरी बस्दै आएकी थिइन् ।

आँचलका भिनाजु प्रकाशनाथ योगीले दिएको जाहेरी अनुसार, टिकटक मार्फत सञ्जु विकसँग चिनजान भएकी आँचलको सरस्वती भण्डारीसँग केही समयदेखि विवाद चलिरहेको थियो । जाहेरीमा भनिएको छ, ‘सञ्जु विककी श्रीमती उर्मिलाले समेत विवादमा प्रोत्साहन दिने गरेकी थिइन् । यही विषयमा असोज ९ गते अपराह्न ४ बजे सञ्जुको ग्यारेजमा छलफल भएको थियो । त्यस क्रममा उनीहरूले आँचललाई गालीगलौज गर्दै जथाभावी मुख छाडेर झगडा गरेका थिए र ज्यान मार्ने धम्की समेत दिएका थिए ।’

उक्त घटनापश्चात् आँचलले आफ्नो शरीरमा पेट्रोल छर्की आफैँलाई आगो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गम्भीर रूपमा घाइते भएकी उनलाई सञ्जुले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याएका थिए, जहाँ उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे ।

सञ्जुले भने प्रहरीलाई दिएको बयानमा आफूहरूले धम्की नदिएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘आगो बलिरहेको देखेपछि मैले ज्याकेटले निभाउन खोजेँ, त्यसले नभएपछि पानी खन्याएँ र ब्ल्याङ्केटले छोपेर ट्याक्सीमा अस्पताल लगेँ ।’

मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा ‘कसैलाई आत्महत्या गर्न उक्साउने वा त्यस्तो परिस्थिति खडा गर्ने काम गर्न नहुने’ व्यवस्था छ । यस्तो कार्य गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 11 =