नेपाली कथा साहित्यको पुनर्जागरण अभियान: कथावाचनको साहित्यिक उत्सव

काठमाडौं । नेपालको साहित्यिक आकाशमा कथा विधाको दीप प्रज्वलित पार्ने अभियानले निरन्तरता पाएको छ ।
साहित्यकार पुष्कर लोहनीले सुरु गरेको नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानमा दशक-दशकका कथाकारहरूको कथा वाचन गर्ने गरिन्छ । महिनाको एक पटक सञ्चालन हुने कथा वाचन कार्यक्रमको तेइसौँ शृङ्खलामा कथाकारहरू निर्मोही व्यास, इन्दिरा प्रसाईँ, बाबा न्यौपाने र मानसीले कथा वाचन गरे । दशकको प्रतिनिधित्वको रूपमा व्यासको ‘स्वयम्भूका आँखाहरू’ शीर्षकको कथाले ४०, प्रसाईँको ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ शीर्षकको कथाले ५०, न्यौपानेको ‘रतेली’ कथाले ६० र मानसीको ‘चन्द्रिका’ शीर्षकको कथाले ७० दशकको प्रतिनिधित्व गरेका थिए ।
दिवंगत कथाकारहरूको स्मृतिमा समर्पित हुँदै कार्यक्रमको सुरुमा स्वर्गीय भीमनिधि तिवारीको अमर कथा ‘चखेवा चखेवी’ लाई कथाकार समिना खनाल (पृथा) ले वाचन गरिन् । कथा वाचन अभियानका परिकल्पनाकार साहित्यकार पुष्कर लोहनीले बाँकी जीवन साहित्यमा लगाउने उद्देश्य साथ कथाकार स्वयंले आफ्ना कथा वाचन गर्ने कामको सुरुवात गरेको स्पष्ट पारे ।
स्वयम्भूनाथको प्राचीन दृष्टिबाट हेरिने काठमाडौँको जीवन्त चित्रण गरिएको निर्मोही व्यासको कथाले तराईको कथित ठूला र साना जातको यथार्थ चित्रण गर्दै वर्गीय द्वन्द्वलाई उजागर गरेको थियो । प्रयोगात्मक शैलीकी कथाकार इन्दिरा प्रसाईँको कथा ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ मा आधुनिक जीवनको द्वन्द्व र आत्मसंघर्षको गहन विश्लेषण गरिएको छ । कथाले पाठकलाई आफ्नै अन्तर्मनतिर डोर्याउँछ ।
त्यसैगरी अनुभवी कथाकार बाबा न्यौपानेले ‘रतेली’ शीर्षकको कथाले सांस्कृतिक पर्व रत्तेलीलाई प्रतीकको रूपमा प्रयोग गरिएको समलैंगिक प्रेम मनोविज्ञानलाई उजागर गरेको छ ।
२०७६ सालको बाह्रखरी उत्कृष्ट कथासंग्रहमा प्रकाशित कथाकार मानसीको कथा ‘चन्द्रिका’ ले सार्वजनिक पद धारण गरेका व्यक्तिको निजी दिनचर्यालाई उधिन्ने प्रयास गरेको देखिन्छ । जिम्मेवारी र दायित्वबोधबाट खुम्चिएको पात्रको अव्यक्त प्रेमलाई पर्दाभित्रै कैद गरेर सूक्ष्म रूपमा व्यक्तिगत स्वतन्त्रताको पैरवी गरिएको छ । समाजका जनजिब्रोका शब्दलाई जुरुक्क उचालेर कथामा राखिएको छ ।
कथाहरूबारे समीक्षकद्वय प्राध्यापक डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले टिप्पणी गरे । नेपाली कथा साहित्यको पुनर्जागरणका लागि आयोजित कथावाचन कार्यक्रमले साहित्यप्रेमीहरूको मनमा नयाँ लहर पैदा गरेको हो । यो अभियानले लोप हुँदै गएको नेपाली साहित्य पठन संस्कृतिलाई पुनः जीवन्त बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
कथा वाचन कार्यक्रमकै आयोजकको रूपमा रहँदै आएका साहित्यकारद्वय चन्द्रप्रसाद भट्टराई र उपन्यासकार सुकदेव उपाध्यायले नेपाली कथा साहित्य अझै जीवन्त छ भन्ने कुरा कथा वाचन उत्सवले प्रमाणित गरेको बताए । यसको पुनर्जागरण अभियानले साहित्यप्रेमीहरूको हृदयमा नयाँ ज्योति प्रज्वलित भएको विश्वास आयोजकले लिएको छ ।








