विपिनजस्तै विदेशी भूमिका कसैले ज्यान गुमाउन नपरोस् : मन्त्री कुलमान

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार, उनको शव फ्लाई दुबईको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण गर्ने तालिका छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दुःखद खबरले आफू स्तब्ध भएको बताएका छन् । मन्त्री घिसिङले दिउँसो तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जोशीको पार्थिव शरीर बुझ्न र श्रद्धाञ्जली अर्पण गर्न जाने बताए । उनले विपिन जोशीको अकाल निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
विपिन जोशीले जीवनको अन्तिम त्रासदीपूर्ण क्षणमा पनि अपूर्व साहस, बहादुरी र त्याग देखाउँदै अन्य धेरै साथीहरूको जीवन बचाएको मन्त्री घिसिङले स्मरण गरे । उनले विपिनको यो वीरतापूर्ण कार्य उनको जीवनको सर्वोच्च विरासत भएको र यसले हामी सबैलाई उनीप्रति सदासर्वदा गौरवान्वित बनाइरहने बताए । घिसिङले विपिनलाई नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैँ जीवित रहने उल्लेख गरे ।
मन्त्री घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई, यो हाम्रो राष्ट्रिय आर्थिक व्यवस्थाको र हाम्रो प्रणालीको डरलाग्दो ऐना भएको बताए । उनले यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपनाहरू, उनीहरूको भविष्य र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जाने अवस्थाको चित्रण गर्ने दुखेसो पोखे ।
यस विषम परिस्थिति अन्त्य गर्न र हरेक नेपालीले नेपालमै बसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविष्य सिर्जना गर्नका लागि सबै एक भएर लाग्न उनले आम नेपाली जनसमुदायमा अपिल गरेका छन् ।








