हङकङ : जहाज चिप्लेर समुद्रमा खस्दा दुई जनाको मृत्यु

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जना ‘ग्राउन्ड स्टाफ’ को मृत्यु भएको छ । टर्कीको मालबाहक एयरलाइन एयर एटीसीको बोइङ ७४७-४८१ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, इमिरेट्सको उडान ईके९७८८ का रूपमा आएको उक्त बोइङ स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे हङकङ आइपुगेको थियो । अवतरण गर्ने क्रममा जहाज धावनमार्गको दक्षिणी भागमा रहेको एउटा सवारी साधनलाई ठक्कर दिँदै समुद्रमा खसेको थियो ।
दुर्घटनाको लगत्तै दुई जना ‘ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए। उनीहरूको उद्धार गरी अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । विमानमा चालक दलका चार सदस्य सवार थिए । उनीहरू जीवितै रहेका र हाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
अग्निम नियन्त्रक दलका सदस्यहरू दुई मिनेटमै घटनास्थल पुगेका थिए । उनीहरूले जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त धावनमार्ग बन्द गरिएको छ, यद्यपि विमानस्थलका अन्य दुई धावनमार्ग भने सञ्चालनमा रहेका छन् । यस घटनाका कारण सोमबार हङकङ विमानस्थलमा अवतरण गर्ने तालिका रहेका कम्तीमा ११ वटा कार्गो जहाजका उडान रद्द गरिएका छन् । विमानस्थलका अधिकारीहरूले घटनाबारे थप जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
टर्कीको मालबाहक एयरलाइन एयर एटीसीको स्वामित्वमा रहेको उक्त बोइङ ७४७-४८१ जहाज पहिले यात्रु बोक्ने गर्थ्यो, तर पछि त्यसलाई मालबाहकमा परिवर्तन गरिएको थियो । विमानसम्बन्धी वेबसाइट ‘एयरफ्लिट्स’का अनुसार यो विमान करिब ३० वर्ष पुरानो हो र यसले सन् १९९३ मा पहिलो पटक उडान भरेको थियो । इमिरेट्सले दुर्घटना हुँदाको समयमा जहाजमा कुनै मालसामान नरहेको स्पष्ट पारेको छ ।








