प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश

निराशा छोडौं, भ्रममा नपरी नयाँ नेपाल निर्माणमा एकजुट होऔं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । उनले शान्ति, समृद्धि र सुशासनको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छन् ।

आज जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा नेपालीहरूको एकताबद्ध रहने मौलिक संस्कृतिलाई स्मरण गर्दै भनेकी छन्, ‘कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ ।’

प्रधानमन्त्री कार्कीले आगामी छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त रहेको बताएकी छन् । उनले सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी रहेको पनि स्पष्ट पारेकी छन् ।

सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले सरकारलाई सुम्पेको भरोसा र दायित्वको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने प्रतिबद्धता सरकारले लिएको छ ।’ उनले यी पर्वहरूलाई जीवनमा आशा, विश्वास र समृद्धिको प्रतीक तथा अन्धकारमाथि उज्यालोको विजयका रूपमा लिएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =