काभा नेसन्स कपका लागि सन्तुलित टिम बनेको छः प्रशिक्षक यादव

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित बङ्गलादेश यात्रामा छ ।
काभा नेसन्स कप खेल्दै नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किँदै छ । नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बङ्गलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्दै छ । सोही नेसन्स कपका लागि आइतबार भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भरत यादवले १७/१८ दिनको तयारीबाट सन्तुलित टोली बनेको र त्यहीअनुरूप राम्रो प्रदर्शन पनि गर्ने आशा व्यक्त गरेका छन् ।
प्रशिक्षक यादवले कम समयमा पनि जुनियर र सिनियर खेलाडीबाट राम्रो टिम कम्बिनेसन भएको बताए । रिसिभ, ब्लक र सर्भिसमा विशेष ध्यान दिएको प्रशिक्षक यादवले उल्लेख गरेका छन् ।
यी पक्षमा धेरै सुधार पनि आएको उनको भनाइ छ । उनले कप्तान हरिहजुर थापा अनुभवी खेलाडी रहेको उल्लेख गर्दै उनमा टिमलाई अगाडि बढाउने राम्रो क्षमता रहेको बताएका छन् । तीन सदस्यीय खेलाडी छनोट समितिले नै १८ जनाको प्रारम्भिक टोलीबाट १४ जनाको राष्ट्रिय टोली घोषणा गरिएको थियो । प्रशिक्षक यादवले छनोट गरिएका खेलाडीबाट धेरै सन्तुष्ट रहेको र उनीहरूको क्षमता पनि राम्रो रहेको बताएका छन् । अधिकांश नयाँ खेलाडी भए पनि विभिन्न उमेरसमूहका उत्कृष्ट खेलाडी टोलीमा आबद्ध रहेकाले नेपाली टोली निकै उत्साहित रहेको प्रशिक्षक यादव बताउँछन् ।
नेपाल भलिबल संघ (एनभिए) ले शुक्रवार मात्र सामाजिक सञ्जालमार्फत लिफ्टर हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः जिम्मेवारी दिइसकेको छ । विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीको कप्तानीमा जिम्मेवारी पाएका हुन् । दुई वर्षअघि उनले पहिलोपल्ट देशको कप्तानी गर्ने अवसर पाएका थिए । तर, अनुशासनहीन काम गरेपछि हरिहजुर एक महिनामै निलम्बनमा परे ।
त्यसपछि आर्मीकै मानबहादुर श्रेष्ठ नेपाली टोलीको कप्तानमा नियुक्त भए । तर, मानबहादुर अस्ट्रेलिया पलायन भएपछि नेपाली भलिबल टोली कप्तानविहीन थियो । संघले काभा नेसन्स कप अगाडि नै हरिहजुरलाई जिम्मेवारी दिएको हो ।
उनै हरिहजुरले तयारी छोटो भएपनि अन्तिम चरण पुगेको उल्लेख गर्दै अझै प्रशिक्षण लामो अवधिको हुनुपर्ने बताए । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कम्तीमा दुई महिनादेखि प्रशिक्षण गर्ने गरेको उनले उल्लेख गरेका छन् । कप्तान हरिहजुरले तयारी कम भएको र त्यसैले टिम सेट हुने तरिकाले मात्र प्रशिक्षण गरिरहेको बताएका छन् । तर आफ्नो टोली च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिरहेको उनी बताउँछन् ।
उनले प्रतिद्वन्द्वी पनि त्यति बलियो नरहेको उल्लेख गर्छन् । तर यसपल्ट अनुभवी खेलाडी नहुँदा केही असहज हुने उनको बुझाइ छ । युवा खेलाडीमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन् ।
नेपाल भलिबल संघ (एनभिए) ले शुक्रवार मात्र सामाजिक सञ्जालमार्पत हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानमा पुनः जिम्मेवारी दिइसकेको छ । विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्दै आएका हरिहजुरले पुनः नेपाली राष्ट्रिय टोलीको कप्तानीमा जिम्मेवारी पाएका हुन् । कप्तान हरिहजुरले टोलीमा अधिकांश युवा खेलाडी भएपनि उनीहरूले उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकाले नेसन्स कपमा राम्रो प्रदर्शन हुने आशा व्यक्त गरेका छन् ।
घरेलु प्रतियोगितामा राम्रो खेलेका खेलाडी टोली रहेको उनको बुझाइ छ । कप्तानीको जिम्मेवारी पाउँदा आफूलाई कुनै दबाब नपर्ने कप्तान हरिहजुरको विश्वास छ । यद्यपि, उनले तयारीका लागि समय थोरै भएको स्वीकार गरे । यो तयारीबाट पनि राम्रो नतिजा आउनेमा उनी आशावादी देखिन्छन् ।
नक्सालमा आइतबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाली टोलीको बिदाइ गरेका थिए । हरिहजुरको कप्तानीमा रहेको नेपाली टोलीमा धनबहादुर भट्ट, धीरजकाजी बस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज बस्नेत, सुजन सुनार र सन्तोष राई छन् ।
नेपालले आगामी अक्टोबर २२ देखि २८ सम्म बङ्गलादेशको ढाकामा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कप खेल्दैछ । नेपालले उद्घाटन खेलमा तुर्किमिनिस्तानसँग खेल्नेछ । अक्टोबर २३ मा हुने दोस्रो खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । त्यसको एक दिनपछि मालदिभ्ससँग खेल्ने तालिका छ ।
राउण्ड रोविन लिगको चौथो खेलमा नेपालले एक दिनको आरामपछि अफगानिस्तानसँग खेल्नेछ । त्यसपछि अक्टोबर २७ मा नेपालले श्रीलङ्कासँग खेल्नेछ । लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछ ।








