चाडपर्वमा कृषि उपजसँगै औद्योगिक उत्पादन प्रवर्द्धन गर्दै साल्ट ट्रेडिङ (भिडिओ)

काठमाडौँ । चाडपर्वको बेलामा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि उपजसँगै स्वदेशी औद्योगिक उत्पादन प्रवर्द्धन गरेको छ ।

दशैँ तिहारमा आफ्नो विक्री केन्द्रमा स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई आफ्ना विक्री केन्द्रहरूमा राखेको छ भने नेपालमै उत्पादित औद्योगिक वस्तुहरूको स्टलहरूलाई केन्द्रीय कार्यालयमा निःशुल्क स्टल राख्न दिएर प्रवर्द्धन गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेशकुमार झाले नेपालमा उत्पादित वस्तुहरूलाई प्रवर्द्धन गर्ने हिसाबले चाडपर्वका बेला आफ्ना विक्री केन्द्रमा लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरू सिमि, राजमा, बोडी, फापर, कोदो, मकैको च्याख्लालाई प्राथमिकताका साथ विक्रीमा राखिएको बताए ।

उनकाअनुसार जुम्लाको स्याउलाई समेत साल्ट ट्रेडिङले प्रवर्द्धन गरेको छ भने नेपालमा बनेका औद्योगिक उत्पादनलाई समेत निःशुल्क स्टल राख्न दिएर प्रवर्द्धन गरेको छ । औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादन नेबिको बिस्कुटदेखि स्थानीयस्तरमा उत्पादित कञ्चनजंगा अगरबत्तीलाई समेत केन्द्रीय परिसरमा स्टल राख्न दिएर साल्ट टे«डिङले प्रवर्द्धन गरेको झाले बताए ।


सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने – ‘नेपालमा उत्पादित कृषि उपजहरूलाई प्राथमिकतामा राखेर विक्री गरिरहेका छौँ । लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरू सिमि, राजमा, बोडी, फापर, कोदो, मकैँको च्याँख्लाको बजारीकरण गर्नुपर्छ भन्ने मनसायले विशेष प्राथमिकताका साथ विक्री गर्दै आएका छौँ । जुम्लाको च्याउ पनि राखिएको छ । नेपाली उत्पादन नेबिको बिस्कुट पनि राखिएको छ । औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादनहरू स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने हिसाबले गरिरहेका छौँ । स्थानीय रूपमा उत्पादित कञ्चनजंगा धूप पनि राखिएको छ । दसैँ तिहारको बेला प्रवर्द्धन गर्नुपर्छ भन्ने मनसायले राखिएको हो । ब्राण्डिङमा सघाउ पुग्छ र विक्रीमा समेत सहयोग पुग्छ भनेर राखिएको हो । साल्ट ट्रेडिङमा राखिएका स्टलहरू पूर्ण रूपमा निःशुल्क दिइएको छ ।’

जुम्लाबाट च्याउ ल्याएर विक्री गर्दै आएका दलबहादुर खड्काले जुम्लाको स्याउ काठमाडौँमा ल्याइ बजारीकरण गर्न साल्ट ट्रेडिङले सहयोग गरेको बताए । १४ वर्षदेखि जुम्लाबाट च्याउ ल्याएर काठमाडौँमा विक्री गरेको र विगत तीन वर्षदेखि साल्ट ट्रेडिङ परिसरबाट जुम्ली च्याउ बेचिरहेको बताए ।
व्यवसायी खड्काले भने ‘जुम्लाबाट ल्याएर १४ वर्षदेखि काठमाडौँमा च्याउ बेच्दै आएको छु । साल्ट ट्रेडिङ परिसरमा तीन वर्ष भयो । राम्रो सहुलियत दिएर साल्टले विक्रीको प्रबन्ध मिलाइदिनुभएको छ ।’

व्यवसायी खड्काकाअनुसार अघिल्ला वर्षमा जस्तो च्याउ यसपटक राम्रो हुन सकेन । असिनासँगको वर्षाले गर्दा च्याउ नष्ट हुन पुग्यो तर उत्पादन भएको च्याउ बजारसम्म पुर्याउन संघसंस्थाहरुको सहयोगले सहज भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =