काँग्रेस केन्द्रीय समिति बैठक शनिवार पनि बस्ने

काठमाडौँ । नेताहरू बोल्ने क्रम नसकिएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ ।
शुक्रवारको बैठकमा एजेण्डामाथि नेताहरूले आफ्नो धारणा राख्ने क्रममा नसकिएको शनिवार फेरी बस्नेगरी बैठक स्थगित गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनकाअनुसार बैठकमा केन्द्रीय सदस्यहरूले एजेण्डामाथि आफ्नो धारणा राखिरहेका छन् । उनले शनिवार पनि छलफल सकिने सम्भावना कम रहेकोले छठपछि मात्रै निष्कर्षमा पुगिने बताए ।
बैठकमा केहीले विशेष महाधिवेशन गर्नुपर्ने तथा केहीले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रवक्ता महतले भने ‘हाम्रो अस्ति जस्तै बैठक जारी छ । प्रस्तुत १० वटा जेण्डामा साथीहरूले कुरा राखिरहनुभएको छ । भोलि पनि बैठक बस्छौँ । छठ पर्वपछि बाँकी बैठकहरूलाई निरन्तरता दिन्छौँ । त्यसपछि मात्रै हामी छलफल भइहेका विषयको निष्कर्षमा पुग्छौँ । अहिले सरकारले निर्वाचन गराउने भनेर सरकारले भनिरहेको छ । तर निर्वाचन गराउने कुरामा सरकार गम्भीर भएको देखिँदैन । अहिले फेरी राजदूतहरू फिर्ता गरिएको छ । छिनछिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय कूटनीतिमा असर पर्ने कुरा पनि बैठकमा उठेको छ । अहिले सरकारले सम्पूर्ण ऊर्जा र शक्ति निर्वाचन गराउनेतर्फ लगाउनुपर्थ्यो । तर त्यसो गरेको देखिँदैन ।’
प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए । उनले सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय कूटनीतिमा प्रश्न उठ्ने खालको गतिविधि गरिरहेको आरोप लगाए ।








