कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार छौँ: नेपाली सेना

काठमाडौँ । भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन देशभरका ४ सय ८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो ।

सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताए ।

उनले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताए । आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार ८ हजार ७ सय ९९ पक्राउ र फिर्ता भएका छन् । त्यस्तै ९ सय ७८ हतियार लुटिएकोमा ५ सय ८६ हतियार फिर्ता ल्याइएको बताएको छ । आन्दोलनका क्रममा मृत्यु भई टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताए । विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतीपूर्ण रहेको बताए । सबैले पहल गरेको खण्डमा निर्वाचनको लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ । नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताए । त्यसका लागि नेपाली सेनाले आफ्नो श्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेको बताए ।

उनले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी एवं तिनीहरूको सम्मिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताए । हतियार र कैदीबन्दी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गरे । राष्ट्रिय संस्कारलाई जगेर्ना गर्दै सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न हातेमालो गर्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =