प्रधानमन्त्री कार्कीको पनि सम्पत्ति छानबिन गर्न वाइसिएलको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ ।
कार्की नेतृत्वको वर्तमान सरकारले पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पत्ति छानबिन हुनुपर्ने जिकिर गरेको हो ।
शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रूपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरूको पनि सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिए ।
उनले भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानबिन नभए आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए ।
उनले भने ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानबिनको हामीले विरोध गर्छौँ । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानबिनको सुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नुभएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन् छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जो कोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट सुरु गर्नुस् । कसैलाई पनि छोड्न हामीले छुट दिने छैनौँ । पूर्वराजा र राप्रपा पार्टीहरूको पनि किन घर जलेनन्, किन उनीहरूका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भीर विषय छ । रास्वपाको पनि गम्भीर विषय छ । यी विषयहरू पनि निष्पक्ष ढंगले छानबिन हुनुपर्यो ।’
पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाए ।








