जेनजी प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्यो : आईजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको प्रदर्शन तथा त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् । शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आईजीपी खापुङले नेपाल प्रहरीलाई ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठन’ को रूपमा वर्णन गरे । उनले भने, ‘आजका दिनसम्म नागरिकको स्नेह र आक्रोश समानन्तर रूपमा प्राप्त तथा सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन नेपाल प्रहरी सफल भएको छ ।’ राजनीतिक परिवर्तनको वर्तमान परिस्थिति र भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको पनि उनले थपे । प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने कुरा पनि उनले स्पष्ट पारे ।
उनले विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको जानकारी दिए । यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको पनि उनले बताए । ‘गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताका युवा तथा विद्यार्थीको प्रदर्शन र त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको छ,’ आईजीपी खापुङले भने, ‘उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दछु ।’
उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकताहरू रहेको औँल्याउँदै उनले नागरिकले तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि गरिने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए ।








