निर्वाचन बिथोल्न केही तत्त्वहरू सक्रिय छन् : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्त्वहरू निर्वाचनको बिथोल्नको लागि सक्रिय भएको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको माहौल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाईबुझाई गर्ने बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढङ्गबाट काम गर्ने उनको भनाई छ ।

वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढङ्गबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।

निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गरे । राजनीतिक दलहरूले भने सरकारले आफूहरूलाई बेवास्ता गरेको आरोप लगाउने गरेका छन् ।

उनले भने ‘निर्वाचनको लागी सबै संवादमा आउन पर्यो । स्टेक होल्डरहरू संवादमा आउनुपर्यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन । निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि जोलाई आउनलाई त्यो अधिकार छ, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकारकार बनेको हो । फ्रि र फेयर ईलेक्सनको लागि बनेको हो । यसमा सहयोग गर्न प¥यो । कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो । त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नि गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए । व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताए । राजनीतिक दलहरूले प्रहरीको दुरुपयोग गरेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =