प्रहरीको एसएलआर खोसेर सिंहदरबारमा पोजिसन लिने सम्राट पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेर सिंहदरबारको मूलगेटमा पोजिसन लिने ‘सम्राट’ उपनामले चिनिने राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको सुनाकोठीबाट पक्राउ परेका परियारले आन्दोलनको क्रममा प्रहरीको सेल्फ–लोडिङ राइफल (एसएलआर) खोसेर सिंहदरबारको मूलगेटमा कालो पोशाकमा पोजिसन लिएका थिए । कालो ट्राउजर, कालो टोपी र कालै मास्क लगाएका उनले पोजिसन लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको नजरमा आएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, परियारलाई सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र मुलुकी अपराध संहिता दफा २८५ अन्तर्गतको आपराधिक उपद्रवको आरोपमा पक्राउ गरिएको हो । उनलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइएको छ ।
प्रहरीका अनुसार पक्राउ परे पनि उनले खोसेको हतियार अझै फेला परेको छैन । बयानका क्रममा उनले हतियार सेनालाई बुझाएको दाबी गरे पनि यसबारे पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।








