विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिए । राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाई छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताए ।

उनले भने ‘पार्टीमा कुनै पनि अध्यक्ष हट्ने भन्ने प्रक्रियाको कुरा हुन्छ । अब हाम्रो पार्टीमा अध्यक्ष हटाउनको लागि पार्टीको विशेष महाधिवेशन बोलाउन प¥यो । हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधिको संख्या ४६ सयको हाराहारीमा छ । भनेपछि २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ । त्यो भनेको झन्डै साँढे १२ सय १३ सय हाराहारी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुन आउँछ । मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिको माग आयो भने मेरो योग्यतामाथि, कार्यक्षमता माथि प्रश्न उठाएर त्यति साथीहरूको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाइदिन्छु ।’

उनले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताए । राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । अध्यक्ष लिङदेनले उहाँहरूलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =