कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रीय कमिटीले भने खुसीसाथ छोड्छु: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको निर्णय गरे मात्रै आफूले पद छोड्ने बताएका छन् ।
बुधवार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरूले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे । ‘पार्टी भित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुसी पार्दिन्छ । देश अलपत्र पार्छ भन्ने व्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्नुपर्छ’ उनले भने ।
आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रीय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटीले निर्णय गरे आफू खुसीसाथ पद त्याग गर्न तयार रहेको बताए । ‘यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुसीसाथ अँध्यारो मुख लगाउन घर जले पनि जान्या छैन, केही भएपनि जानेको छैन । मारिने अवस्था सृजना हुँदा पनि अँध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरूको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु’ उनले भने ।
अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढ्ने बताए । उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे । ‘व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन । यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ । पार्टीले जे भन्छ, त्यो गर्छु । त्यसकारण यी कुराहरूमा स्पष्ट रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु’ उनले भने ।
अध्यक्ष ओलीले विरोधीहरूले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।








