राजेन्द्र पाण्डेको ठोकुवा- ‘जेनजी’का माग पूरा हुन ६ वर्ष लाग्छ, वर्तमान सरकार असंवैधानिक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ‘जेनजीका मागहरू पूरा हुन अझै ६ वर्ष कुर्नुपर्ने बताएका छन् । सभामुख देवराज घिमिरेसहितको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले संसद विघटन नभएको भए वर्तमान संसदबाटै संविधान संशोधन गरी ती मागहरू सम्बोधन गर्न सकिने अवस्था रहेको तर अहिले त्यो सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
पाण्डेले अब निर्वाचित हुने सांसदहरूले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्र संविधान संशोधन गर्ने र त्यसैले ‘जेन-जी’ का मागहरू पूरा हुन करिब ६ वर्ष लाग्ने बताए। उनले वर्तमान प्रधानमन्त्री संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको आरोप लगाए । वर्तमान सरकारका मन्त्रीहरू फागुन २१ मा निर्वाचन गराउनुभन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको पाण्डेको भनाइ छ ।
उनले अन्तरिम सरकारका मन्त्रीहरू निर्वाचन नगराउने किसिमका मन्तव्यहरू दिँदै हिँडिरहेकोमा चिन्ता व्यक्त गरे । पाण्डेले भने, ‘यसरी बोलाउने काम राजनीतिक दलकै नेताहरूको थियो। सभामुखज्यूको भन्दा पनि । अहिले संविधानमाथि पनि समस्या परेको छ। जुन धारा टेकेर प्रधानमन्त्री बनेका छन्, त्यो धाराअनुसारको प्रधानमन्त्री बन्ने ठाउँ छैन । संविधान बच्यो र अहिलेको परिस्थितिको आवश्यकतालाई ध्यानमा राखेर निर्णय भएपछि विरोध जनाएनौं ।’
उनले संसद जोगिएको भए ‘जेन-जी’ ले सडकमा आन्दोलन गरेर राखेका मागहरू, जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी र २१ वर्षको उमेरमै सांसद उठ्न पाउनुपर्ने जस्ता कुराहरू यही संसदबाटै संशोधन गरेर काम गर्न सकिने थियो तर अब त्यो सम्भावना नभएको बताए । ‘अब ‘जेन-जी’ को माग ६ वर्षपछि मात्र पूरा हुन्छ,’ उनले भने, ‘डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै हो । जनताको ताजा जनादेश नै हो । अहिले चुनावको वातावरण छैन । सरकारका मन्त्रीहरू नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरू गरिरहेका छन् ।’
पाण्डेले निर्वाचनको बारेमा राजनीतिक दलहरूलाई सिंहदरबारमा छलफलका लागि बोलाउनुपर्नेमा शीतल निवासमा बोलाउनु गलत भएको बताए । उनले ८ हजार कैदीबन्दी फरार रहेको, १ हजार २०० भन्दा बढी हातहतियार लुटिएको र ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने जिकिर गरे ।








