संविधान जोखिममा छ, भयरहित निर्वाचनको वातावरण सरकारले बनाउन सकेन: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोके पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।
मंगलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशको वर्तमान विषम परिस्थितिमा नेपाली काँग्रेसले आफूलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए ।
संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको दाबी गरे । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएको उनको भनाइ छ । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।
उनले भने ‘देशको वर्तमान विषम परिस्थितिमा नेपाली काँग्रेसले आफूलाई एकताबद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरूसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक छ । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न सकेको छैन। निर्वाचनको पूर्व सर्तका रूपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन् । तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो । यसतर्फ सरकारको ध्यान जाओस् । सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण बनाएको छैन । यस अवस्थामा काँग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ । मुलुकमा संकट आएका बेला त्यसको निकास पनि नेपाली काँग्रेसले दिने गरेको विगतको इतिहासलाई आत्मसात् गर्दै सबै राजनीतिक दललाई एकमत बनाउने तर्फ अघि बढौँ ।’
सभापति देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको बताए । यस अवस्थामा काँग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्न आवश्यक छ ।








