माओवादीसँग पार्टी एकताको प्रयासमा झलनाथको आपत्ति, माधवलाई चेतावनी !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताको गृहकार्य निर्णायक चरणमा पुगेको खबर सार्वजनिक भएसँगै पार्टीका सम्मानित नेता झलनाथ खनालले त्यसप्रति कडा असहमति जनाएका छन् ।
भारतमा पत्नीको उपचारका लागि रहेका खनालले भारतबाटै सन्देश पठाउँदै पार्टी एकता होइन, तत्काल आमरूपमा पुनर्गठन आवश्यक रहेको बताएका छन् ।
खनालले पार्टी एकताको मोडालिटीसमेत आफूलाई जानकारी नगराइएको उल्लेख गर्दै यस्तो गृहकार्यलाई कुबेलाको सहनाईको संज्ञा दिएका छन् । उनले भने, ‘पार्टीलाई आमूल रूपान्तरण गरी क्रान्तिकारी दिशामा अघि बढाउनु नै अहिलेको आवश्यकता हो, एकता होइन ।’
नेता खनालका अनुसार एकीकृत समाजवादी अहिले व्यापक पुनर्गठनको चरणमा जानुपर्ने बेला छ । सबै कम्युनिस्ट शक्तिहरूको नयाँ गोलबन्दीको खाका कोर्नुपर्ने बेला ‘बेमौसमी एकता’को कुरा उठाइनु अनुचित रहेको उनको भनाइ छ ।
खनालले विगतमा नेपाली कांग्रेससँग समीकरण गर्दा पार्टीले आन्दोलनकै दिशा गुमाएको स्मरण गराउँदै फेरि त्यही गल्ती नदोहोर्याउन चेतावनी दिएका छन् ।
माओवादी केन्द्रसँग हतारको एकताले एकीकृत समाजवादीको पृथक राजनीतिक अस्तित्व समाप्त हुने खतरा रहेको उनको ठहर छ । ‘म बृहत् वाम एकताको पक्षमा छु, तर त्यो समय अहिले आएको छैन,’ खनालले भने ।
खनालले अहिलेको समय पार्टी पुनर्गठन र रूपान्तरणको युग भएको स्पष्ट पारेका छन् । पार्टीभित्रै उठेका युवा आवाजलाई सम्बोधन गर्दै उनले सैद्धान्तिक, वैचारिक र राजनीतिक स्पष्टता कायम गर्ने खाँचो औंल्याए ।








