मोरङ कारागारमा लागुऔषध मुद्दाका बन्दीको मृत्यु
२०८२ असोज २५ गते

काठमाडौं । मोरङ जिल्ला कारागारमा थुनामा रहेका एक बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन् । जिल्ला अदालत मोरङले उनलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनका विरुद्धको मुद्दा हाल विचाराधीन अवस्थामै रहेको कारागारले जनाएको छ ।
जेलर गौरव ढुंगेलका अनुसार सार्कीलाई शनिबार दिउँसो न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको ढुंगेलले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








