जेनजी आन्दोलनलाई सही दिशा दिन डा. भट्टराईका चार सूत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जारी ‘जेनजी’ आन्दोलनलाई यसको ऐतिहासिक परिवर्तनको लक्ष्यसम्म पुर्‍याउन चार महत्त्वपूर्ण बुँदामा सुझाव प्रस्तुत गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यो विद्रोहको परिणाम अझै स्पष्ट भइनसकेको भए पनि विगतका आन्दोलनका त्रुटिबाट पाठ सिक्दै अघि बढ्न अपिल गरेका छन् ।

डा. भट्टराईको विचारमा, जेनजी विद्रोहलाई यसको परिवर्तनकारी ध्येयमा पुर्‍याउन निम्न विषयमा ध्यान दिनु अपरिहार्य छ ।

१. आन्दोलनको नेतृत्व र घुसपैठप्रति सतर्कता:
डा. भट्टराईले ‘सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ’ भन्ने आहान उद्धृत गर्दै जेनजी आन्दोलनका वास्तविक प्रतिनिधिबारे देखिएको अन्योलप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भदौ २३ गते आन्दोलनको औपचारिक पहल र सडकमा नेतृत्व गर्नेहरूलाई नै मुख्य प्रतिनिधि मान्नुपर्नेमा जोड दिएका छन् । पछि सहयोग गर्नेहरूलाई सहयोगीको भूमिकामा राख्ने र घुसपैठ गरी प्रतिगामी नारा लगाउने वा गलत हर्कत गर्नेहरूलाई उचित व्यवहार गर्नुपर्ने उनको सुझाव छ ।

त्यस्तै, पटक-पटक सत्तामा रहेर गलत क्रियाकलापले यो युवा विद्रोह सिर्जना गर्ने वा आन्दोलनमा घुसपैठ गराएर सार्वजनिक सम्पत्ति नष्ट गराउने अनि अहिले साखुल्ले बनेर गोहीको आँसु झार्दै अघि आउनेहरूबाट पनि सचेत रहन उनले आग्रह गरेका छन् ।

२. अन्तरिम सरकारको निष्ठा र कार्यादेश:
डा. भट्टराईले अहिलेको अन्तरिम सरकार कसैको दयामायाले नभई जेनजी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताका कारण गठन भएकोमा जोड दिएका छन् । उनले सरकारलाई भित्री वा बाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेको स्पष्ट पार्दै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् । सत्कर्मको जस इतिहासले अवश्य दिने कुरामा ढुक्क रहन उनले प्रोत्साहित गरेका छन् ।

३. राज्यका स्थायी अंगहरूको सहयोग:
मुख्य कार्यकारी अंग अन्तरिम सरकारबाहेक राज्यका अन्य स्थायी अंगहरू जस्तै कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा निकायहरू, संवैधानिक आयोगहरू, र प्रदेश तथा स्थानीय सरकारहरूले पनि यो बदलिएको परिवेशमा जेनजी विद्रोहको दूरगामी महत्त्वलाई आत्मसात् गर्नुपर्ने डा. भट्टराईको धारणा छ । कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्ने र कथंकदाचित् चित्त नबुझे पदत्याग गरेर मार्गप्रशस्त गर्नु उचित हुने तर असहयोग र अन्तरध्वंस गर्नु नहुने उनको भनाइ छ ।

४. गैरराज्य क्षेत्रको जिम्मेवारीपूर्ण भूमिका:
लोकतन्त्रमा अर्को महत्त्वपूर्ण तर ओझेलमा पर्दै आएको विषयका रूपमा डा. भट्टराईले विशाल गैरराज्य क्षेत्र (उद्यमी-व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरू) लाई औंल्याएका छन् । उनले यो अन्तरिम कालमा सचेतनापूर्वक आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =