जेनजी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई आदेश दिइएको थिएन : रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन् ।
शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरे ।
‘जेनजी आन्दोलनको क्रममा प्रहरीलाई बल प्रयोग गर्नको लागि तत्काली प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दियो भन्ने कोणबाट पनि कुराहरु आइरहेका छन्,’ उनले भने, ‘जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भएपनि यसरी आदेश दिने कुरा हुँदैन । आन्दोलनकारीमाथि बल प्रयोग गर्ने कुनै पनि आदेश दिइएको छैन, भनिएको छैन ।’
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको छ । उनले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरे ।
उनले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गरे । ‘घट्नाहरु दुःखद् भए । धेरै जनाको ज्यान गएको छ । सरकारी संरचना र व्यक्तिगत निजी आवासहरुमा ठुलो आगजनी भएको छ । ति घट्नाहरुका प्रति मलाई गहिरो कुरा भयो । लगत्तै मैले मन्त्री पदबाट राजीनामा दिएको कुरा यहाँहरुमा विदितै छ’ उनले भने ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्न निरन्तर पार्टी बैठक चलिरहेको उनको भनाइ छ । उनले पार्टीको अगामी कार्यनीतिको बारेमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत बताए ।








