कुमारी बैंक र जीआईजेड नेपालबीच विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय गतिशीलता सुदृढ बनाउन कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच ‘नेपालका लागि दिगो विद्युतीय यातायात’ (सेटफोरएनपीएल) परियोजना अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात विशेषगरी विद्युतीय माइक्रो तथा मिनिबसहरूको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।
सेटफोरएनपीएल परियोजना जीआईजेड नेपाल र गोल्डेन ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।
यो परियोजना ‘मिटिगेसन एक्सन फेसिलिटी’ (एमएएफ) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यसले करिब ३ हजार ५ सय विद्युतीय मिनिबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । यसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने अपेक्षा छ ।
आर्थिक सिमाबद्धता ध्यानमा राखी यस पहलले परम्परागत इन्धनमा आधारित सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । सेटफोरएनपीएल परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी राउट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टमजस्ता डिजिटल सुविधा पनि प्रयोगमा ल्याइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनिबस प्रयोग गर्न सहज बनाउने छ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (लोन प्याकेज) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (सबसिडी) व्यवस्था गर्ने छ जसले सवारी खरिद लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउने जनाइएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।








