विदेशमा रहेका मतदातालाई पनि मत हाल्ने व्यवस्था सुनिश्चित गर्न जेनजी अभियन्ताहरुको माग

काठमाडौं । विदेशमा रहेका मतदाताहरुलाई पनि आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी गराउनुपर्ने लगायतका मुख्य माग राखि जेनजी अभियन्ताहरुले निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा पुगेर उनीहरुले विदेशमा रहेका मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिन पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै आयोग पदाधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

रोजगारीको खोजीमा विदेशिन बाध्य मतदाताहरुलाई पनि निर्वाचनमा भाग लिने उनीहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापन पत्र बुझाइएको जेनजी अभियन्ता शिव यादवले बताए । उनले निर्वाचनको तयारीको बारेमा पनि आयोगसँग जानकरी लिइएको बताए ।

जेनजी अभियन्ताहरुले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोगलाई सचेत गराएका थिए ।

यता, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेको मतदाताहरुलाई आगामी निर्वाचनमा सहभागी गराउनका लागि आयोग लागि परेको बताए ।

उनले आयोगले त्यसका लागि सरकारसँग छलफल गरिरहेको पनि बताए । कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले सबै मतदाताको अधिकार हनन हुन नदिन दत्तचित्त भएर काम गरिरहेको बताए ।

उनले निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका मतदाताहरुलाई सहभागी गराउने संवैधानिक अधिकार कार्यान्वयनमा ल्याउने गरी ऐनको मस्यौदा सरकारलाई बुझाएको र सरकारले त्यो चाँडै सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =