टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

काठमाडौं । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका-२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।  गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी  दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका-१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका-५ नकटुवा हुँदै फेटा गाउँपालिका-२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =