ओली र लेखकलाई पक्राउ गर्न सरकारलाई दबाब, तर प्रहरी तयार छैन
बालेनकै योजनामा दिइएको थियो जाहेरी, चलेको थियो एरेस्ट अभियान

काठमाडौँ । पछिल्लो समय पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारले सुरक्षा निकायलाई दबाब दिइरहेको छ ।
बालुवाटारमा सोमबार राति भएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङसहित सबै सुरक्षा निकाय प्रमुखहरूलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । तर, सुरक्षा निकायका प्रमुखहरू तयार भएनन् ।
सुरक्षा निकाय प्रमुखहरूले कानुनी जटिलता र सुरक्षा संवेदनशीलताका कारण उक्त आदेश कार्यान्वयन गर्न असमर्थ रहेको बताएका छन् ।
स्रोतका अनुसार आइजिपी चन्द्रकुवेर खापुङले अहिलेकै अवस्थामा ओली र लेखकलाई पक्राउ गर्दा थप सङ्कट आउने बताएका थिए । उनले कुनै व्यक्ति वा समूहको दबाबमा प्रहरीलाई काम गर्न दिने कुरा अस्वीकार रहेको बताएका थिए ।
बालेनले दिइरहेका छन् दबाब
असोज ९ गते बालुवाटारमा भएको एक बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका थिए । उनले जेनजी आन्दोलनमा दमन गर्ने ओली र लेखकलाई तुरुन्तै पक्राउ गर्ने दबाब दिएका थिए ।
उनले ओली र लेखकलाई समात्न ढिलाइ गर्दा जेनजी युवाहरूको असन्तोष बढ्ने भन्दै सरकारले एक्सन लिनुपर्ने बताएका थिए । बालेनको आग्रहमा प्रधानमन्त्रीले प्रक्रिया सुरु गरेको जानकारी दिएकी थिइन् ।
यता, गृहमन्त्री ओमप्रकाश अर्यालले भने बैठकमा निरन्तर जनताको सरकारको म्यान्डेटको आधारमा ओली र लेखकलाई तत्काल कारबाही गर्नुपर्ने अडान राखेका थिए । यद्यपि, सुरक्षा निकायका प्रमुखहरूले यस विषयमा कानुनी र सुरक्षा चुनौतीहरू प्रस्तुत गरेपछि सरकार पछि हट्न बाध्य भएको देखिन्छ ।
बैठकमा आइजिपी खापुङ र अन्य वरिष्ठ प्रहरी अधिकारीहरूले बिना कुनै ठोस प्रमाण र कानुनी आधारमा ओली र लेखकलाई पक्राउ गर्न नसकिने बताएका थिए । प्रहरीले पक्राउ गर्न सहमति नजनाएपछि गृहमन्त्री र जेनजीका नेता भनिएका सुदन गुरुङले सामाजिक संजालमा केपी ओली पक्राउ अभियान चलाएका थिए ।
यति मात्रै होइन, असोज २० गते प्रहरी परिसरमा सुदन गुरुङ र अन्य जेनजी प्रतिनिधिहरूले ओली र लेखकको विरुद्ध जाहेरी दर्ता गरेका थिए । यद्यपि, प्रहरीले उक्त जाहेरी जाँचबुझ आयोगमा पठाएको थियो ।
तर, आज बिहीबार आयोगले उक्त जाहेरी आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीलाई नै फिर्ता गरेको छ ।








