खेलाडीका नाममा हुलाक टिकट प्रकाशन

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ ।
विभागले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो ।
नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।
त्यसैगरी महिला क्रिकेटको उमेर समूह अन्तरगत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।








