जेनजीहरुले छुट्टै राजनीतिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार

काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् ।
आन्दोलन भएको एक महिना पुगेको दिन बिहीवार (असोज २३) काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनीतिक दलको आवश्यकता औंल्याएका हुन् ।
जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनीतिक दल गठन हुनुपर्ने उनीहरूको भनाई छ । राजनीतिक दल गठन पश्चात् जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।
उनीहरुले सरकारले तुरुन्तै शहीदहरूको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताए । भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरुले माग गरे । जेन जीको समूह फरक—फरक भएको भन्दै उहाँहरुले एकजुट हुन पनि आग्रह गरे ।
जेन जी आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।








