सरकारले निर्वाचन गराउनेमा शंका छ : माधव सापकोटा (भिडिओ)

नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले तोकिएकै समयमा सरकारले निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन् ।
उनले सरकारले निर्वाचनको लागि वातावरण नबनाएको बताए । सरकारले राजनीतिक दलहरुसँग संवाद गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
तर हालसम्म सरकारले राजनीतिक दलहरुसँग औपचारिक तथा अनौपचारिक कुनै प्रकारका संवाद नगरेको उहाँले जानकारी दिए । दलहरुले निर्वाचनलाई स्वीकार गरेर निर्वाचनमा जाने वातावरण नबनेसम्म सरकारको प्राविधिक तयारीले मात्रै निर्वाचनको माहोल नबन्ने उनले बताए ।
लोकतन्त्रको हिस्सेदार राजनीतिक दल नै भएकोले सरकारले राजनितिक दललाई बाहिर राखेर निर्वाचन गर्न नसक्ने उनको भनाई छ । कुन दललाई कुन स्थानमा पु¥याउने भन्ने तय निर्वाचनमार्फत जनताले गर्ने उनले बताए ।
दलहरुमार्फत नै जनताले आफ्ना अभिमत र प्रतिनिधि छान्ने प्रक्रिया रहेकाले दलहरुसँग छलफल गरेर निर्वाचनको वातारण बनाउन उहाँले सरकारलाई आग्रह गरे । सरकारले दलहरुसँग संवाद समेत नगरी निर्वाचनको मिति घोषणा भएकोले यहि परिस्थितिमा निर्वाचन हुनेमा प्रश्न उठेको उनको भनाई छ ।
उनले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकोले निर्वाचन गराउन लाग्नुपर्नेमा जोड दिए । उनले तोकिएको समयमा निवार्चन नभएमा के हुन्छ ? भन्ने प्रश्न समेत गरे ।
राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्न ढिलाई गर्नुहुन्न
नेता सापकोटाले राजनीतिक दलहरुले पनि जेन जीहरुसँग संवाद गर्नुपर्ने बताए । उनले वास्तविक जेन जीहरुको पहिचान गरेर संवााद गर्न ढिला भइसकेको बताए ।
जेन जीहरुले उठाएका जायज मागहरु सम्बोधन गर्न राजनितिक दलहरु तयार हुनुपर्नेमा उनले जोड दिए । जेन जीको एजेण्डाहरु हाईज्याक हुने खतरा बढ्दै गएको बताउँदै उनले राजनितिक दलहरुले जेन जीहरुसँग औपचारिक, अनौपचारिक सम्बाद अगाडी बढाउन आग्रह गरे ।
उनले जेन जीहरुसँग सबै राजनितिक दलका युवा प्रतिनिधिहरुले सर्वपक्षिय राजनितिक सम्मेलन नै आयोजना गर्न पनि प्रश्ताव राखे । जेन जीहरुले उठाएका जायज मगलाई कसरी एड्रेस गरेर जान सकिन्छ ? निर्वाचनमा जाँदा समान मुद्दाहरु के हुन सक्दछन् ? संविधानको संशोधन गर्ने विषयहरु के हुन सक्छन् ? हाल भएको विध्वंशको पुनःनिर्माणको मार्गचित्र के हुन सक्दछ ? समृद्धिका मुद्दाहरु के हुन सक्दछन् ? हामी सुशासनको सुनिश्चितता कसरी गछौँ ? लगायतका विषयमा जेन जीका प्रतिनिधिहरु र राजनितिक दलका नयाँ पुस्ताका प्रतिनिधिहरुसहितको एउटा वृहत भेला गर्न जरुरी रहेको उनले बताए ।
उनले राजनितिक दलका युवा पुस्ता र जेन जीका प्रतिनिधिहरुबीच गोलमेच सम्मेलन गरेर एउटा राष्ट्रिय संकल्प गरिएमा हाल जेनजीका एजेण्डालाई हाईज्याक गर्ने, अराजकतातिर लैजाने, प्रतिशोध साँध्ने र सिंगो राष्ट्रलाई नै अराजकताको दिशातिर लैजाने प्रवित्तिको अन्त्य गर्न सकिने बताए ।
मुठभेडको वातावरण बनाउनेतर्फ सरकार अग्रसर
सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएर समाजमा मुठभेडको अवस्था सिर्जना गर्न अग्रसर भएको नेता सापकोटाको आरोप छ । उहाँले कोही कसैको लहडमा राज्य लाग्न नहुनेमा जोड दिए ।
पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरुलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको उनको भनाई छ । जेनजी आन्दोलनको अगुवाको नाममा हामी नेपाल नामक एनजिओका संस्थापक सुदन गुरुङका गतिविधिप्रति लक्षित गर्दै उहाँले विधि भन्दा माथि कोही व्यक्ति हुन नसक्ने बताए ।
हामी नेपालका गुरुङले पछिल्लो समय सरकारलाई अनावश्यक दबाबमा पार्ने कार्य गरिरहेका छन् । निःवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न उनले दबाब सिर्जना गरिरहेका छन् । गुरुङको गतिविधिप्रति सापकोटाले असन्तुष्टी जनाए । उनले विधिमाथि कोही नभएको उल्लेख गरे ।
जेनजी आन्दोलनका क्रममा भएको नरसंहारको छानविन बन्न आयोग बनिसकेको उल्लेख गर्दै उनले आयोगका प्रतिवेदनका आधारमा दोषी ठहर भएमा कारबाही गर्न सकिने बताए ।
एउटा कोही युवाले प्रतिशोधका आधारमा कसैलाई समाउनुपर्छ भनेकै भरमा राज्य भावनामा बगेर, प्रभावित भएर त्यतातिर लाग्न नहुने उनको भनाई छ । कानून मूल्य मान्यतालाई नजरअन्दाज गरेर अगाडी बढेमा त्यसले समाजमा मुठभेडको स्थिति सिर्जना गर्ने उनले बताए ।
यसले अस्थिरता सिर्जना गर्ने, मुठभेडको वातावरण बनाउने, बदला, प्रतिशोधको परिस्थिति सिर्जना गर्ने र त्यसवाट विश्रृंखलताको र अराजकताको परिस्थिति सिर्जना गरेर पूरै स्टेट फेलियरमा लैजाने डिजाईन गरेर बसेको अदृश्य शक्तिलाई मद्दत गर्ने उनको भनाई छ ।
उनले वर्तमान सरकारको काम शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्ने र ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण गर्ने भएको बताए । अझ मुख्यतः निर्वाचन नै यो सरकारको काम भएको दोहो¥याउँदै उनले आफ्नो मुल म्याण्डेडबाट सरकारच्युत हुन नुहुने बताए ।
दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण गर्न आवश्यक
राजनीतिक दलहरुलाई नयाँ ढंगबाट रुपान्तरण र अपग्रेड गर्न आवश्यक रहेको उनले बताए । जेन जीहरुको आवाज पनि पुराना दलहरुले आफ्नो कार्यशैली कार्यशैली परिवर्तन गर्छन् कि गर्दैनन् भन्ने नै रहेको उनको भनाई छ ।
जेन जीहरुको आवाजलाई सबै राजनीतिक दलहरुले सुन्नुपर्ने उनले बताए । माओवादी केन्द्रले उनीहरुको आवाज सुनेर नै विशेष महाधिवेशन गर्न लागेको उनको दाबी छ ।
उनले राजनितिक दलमा नेतृत्व मात्रै परिवर्तन गरेर नहुने बताए । दलहरुका प्रवृत्ति फेरेर रुपान्तरण गर्दै अपग्रेड गनुपर्नेमा उनले जोड दिए ।
उनले संविधानअनुसार आगामी दिनमा आफ्ना गतिविधि अगाडी बढाउन पनि सबै पक्षसँग आग्रह गरे । संवैधानिक परिधिभित्रै रहेर समस्याको हल गर्न सकिने उनको भनाई छ ।








