विपद्ग्रस्त क्षेत्रमा सहयोग गर्न प्राधिकरणद्वारा सङ्घसंस्थालाई आह्वान

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरो तथा डुबानग्रस्त क्षेत्रका प्रभावितलाई सहयोग गर्न संघसंस्थाहरुलाई आह्वान गरेको छ ।
असोज १७ देखि २० गते सम्मको वर्षाका कारण भएको डुबान, बाढी तथा पहिरोमा परेका प्रभावित घरपरिवारलाई राहत व्यवस्थापन गर्ने सम्बन्धमा नेतृत्व गरेका संघसंस्थासँग छलफल गरी आवश्यकताको आधारमा राहत वितरणमा सहयोग गर्न आह्वान गरको हो ।
संकटको समयमा वास्तविक प्रभावितमा राहत पु¥याउन र दोहोरो पन हटाउनका लागि प्राधिकरणले विपद्मा कार्य गरिरहेका निकायसँग छलफल गरेको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले प्राधिकरणको नेतृत्वमा स्थानीय सरकारसंग समन्वय गरेर खाद्यान्न वितरण लगायत आवश्यकताअनुसार राहत व्यवस्थापन गर्न सबै संघसंस्थाको ध्यानाकर्षण गराए ।
छलफलमा राहत वितरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिले आफूहरुले गरेका कार्यको विवरण पनि प्रश्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जालका अध्यक्ष डाक्टर एसपि कलौनीले आवश्यकताअनुसार सबै क्षेत्रमा सहयोग गर्ने काम भइरहेको जानकारी दिए ।
उनले आवश्यकताका विषयवस्तुको सूचिकरण गर्नसकेको अवस्थामा राहत वितरण सहज हुने बताए । उनले राहत वितरणमा सहजीकरणका लागि समन्वयकारी निकाय स्पष्ट तोक्न पनि आग्रह गरे ।
नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि मनिस तिमिल्सिनाले प्रभावित क्षेत्रमा भएका कामबारे जानकारी गराए ।
उनले गैहखाद्य सामग्री तत्काल वितरण गरिएपनि खाद्यान्न सामग्रीको समस्या हुन सक्ने तर्फ चनाखो हुनुपर्ने उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा पोषण शाखाका वरिष्ठ जलनस्वास्थ्य प्रशासक तथा पोषण प्रमुख लिलाविक्रम थापाले विपद्ग्रस्त क्षेत्रको विवरण संकलन कार्य भइरहेको उल्लेख गर्दे आवश्यक परेको अवस्थामा तुरुन्तै परिचालन गर्नसक्ने गरी तयारी अवस्थामा बसेको जानकारी गराए । छलफलमा विपद्ग्रस्त क्षेत्रमा काम गर्ने १४ संस्थाका प्रतिनिधि सहभागी थिए ।








