लाङटाङ ट्रेकिङमा खोलाले बगाएर बेपत्ता भएका ४ जना अझै भेटिएनन्

काठमाडौँ । लाङटाङ क्षेत्रको ट्रेकिङमा गएकाबेला खोलाले बगाएका चार जना अझै भेटिएका छैनन् ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सा पार गर्ने क्रममा आएको आकस्मिक बाढीले उनीहरूलाई शनिबार बगाएको थियो ।
बेपत्ता हुनेमा भक्तपुर निवासी २५ वर्षीया संस्कृति श्रेष्ठ, २२ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया संगीता श्रेष्ठ र २३ वर्षीय रवि श्रेष्ठ छन् । संस्कृति, कि सन र संगीता एकै परिवारका हुन् ।
प्रहरीका अनुसार उनीहरू ब्याम्बोमा बास बसेर घोडातबेलातर्फ जाँदै गर्दा खोल्सामा एक्कासि आएको बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले ड्रोन प्रयोग गरी खोजी कार्य तीव्र पारिएको जानकारी दिए । साथै, खोजीका लागि नुवाकोट, धादिङ र चितवनसँग समन्वय गरिएको उनले बताए ।
घटनाको बेला उनीहरू १६ जन ट्रेकिङ टोलीमा थिए । ८ जनाले खोल्सा पार गरिसकेका थिए भने ४ जना बिचमा परेका थिए । उनीहरूलाई बाढीले बगाएको हो ।








