उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ भनेर ७० दिने गरिएको रहेछ : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताएका छन् ।
मन्त्रालयमा बुधवार भएको कृषि पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा उनले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताए ।
गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उनले जानकारी दिए । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफुलाई थाहा नभएको उनले बताए ।
किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उनले जानकारी दिए । उखु किसानको अनुदान भुक्तानीको लागी थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उनको भनाई छ ।
उनले दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी दिए ।
दशैँ अगाडी ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उनले बताए ।
उनले किसानले आफूलाई दुधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताए । संस्थानले ४ महिनाभित्रमा दुधको सबै रकम भुक्तानी गर्ने उनको भनाई छ ।
मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।








