एशियाली टेबलटेनिस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीको चुनौती

काठमाडौं । नेपालका ६ खेलाडीले भारतमा हुने एशियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
अक्टोबर ११ देखि १५ सम्म भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगामा उक्त च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालका समान तीन महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिष्पर्धा गर्नेछन् ।
टिममा पाँच सिंगल्स स्पर्धामा खेल हुने भएको छ । उक्त च्याम्पियनसिपमा ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ ।
टोली प्रमुखमा अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला छन् ।
प्रशिक्षक बासुकलाले उक्त च्याम्पियनसिपमा २२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
नेपालमै गत जुलाइमा विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली टेबल टेनिस खेलाडीहरूको चीनमा लामो समय अवधिसम्मका लागि प्रशिक्षण क्याम्पका लागि प्रयास भइरहेको बताएका छन् ।








