बाढी–पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं । बाढी–पहिरोले इलामका मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको जानकारी दिए ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले यसपटक सबैभन्दा बढी पानी इलाममा परेको बताए । उनकाअनुसार रामेछाप र पाचथरमा एक/एक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
केही निमार्णाधिन विद्युत आयोजनामा पनि क्षति पुगेको उनले बताए । उनकाअनुसार केही तटबन्द, सिंचाईका आयोजना, मेची राजमार्गका पुलहरुमा पनि क्षति पुगेको छ ।
क्षतिग्रस्त विपी हाईवे एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको पनि जानकारी दिए । ‘केही जलविद्युत आयोजनाहरुमा पनि असर परेको छ । निजी क्षेत्रका आयोजनाहरु र निमार्णाधिन आयोजनाहरुमा क्षति भएको छ । ईलाममा बढी पानी परेको कारण इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको छ । त्यसैगरि रामेछापमा एउटा र पाँचथरमा एउटामा क्षति भएको छ । केही निर्माणाधिन आयोजनाहरुमा पनि क्षति भएको छ । केही तटबन्दहरुमा पनि क्षति भएको छ । यीनीहरुको विस्तृत जानकारी आउन अलि समय लाग्छ । अहिलेसम्म आएको क्षति यति हो । केही सिंचाई आयोजनाहरुमा पनि क्षति पुगेको छ । बाढी र डुबानबाट अन्य संरचनाहरुमा पनि क्षति भएको छ’ उनले भने ।
बाढी पहिरोका कारण भएको क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए ।








