बालेन र सुदनविरुद्ध काउन्टर जाहेरी दिने तयारीमा अनेरास्ववियु

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दर्ता गर्ने प्रयास भइरहेका बेला एमालेको भ्रातृ संगठन अनेरास्ववियुले काउन्टर जाहेरी दिने तयारी गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन अखिलका नेताहरू काठमाडौं प्रहरी परिसर जाने तयारीमा रहेका छन् ।
अखिलका नेताहरूले सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस र प्रहरी हत्याको घटनामा बालेन र सुधनलाई जिम्मेवार ठहर गर्दै किटानी जाहेरी दिने तयारी गरेका हुन् ।
अनेरास्ववियुका महासचिव दीपक धामीले ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने तयारी रहेको बताए ।
हिजो मात्र, सुधन गुरुङको समूहले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा जाने प्रयास गरेको थियो । यद्यपि, प्रहरीले जाहेरी दर्ता गरेको थिएन।
यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेकी थिइन् ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले भने, किटानी जाहेरी दर्ता गर्नका लागि प्रधानमन्त्रीबाट लिखित पत्र आउनुपर्ने सुझाव दिएका थिए ।








