विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री र तालिम उपलब्ध गराउन सुझाव

काठमाडौं । विपद् व्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सामग्री र तालिम उपलब्ध गराउन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को वैठकमा विज्ञ सदस्य डा. गंगालाल तुलाधरले उक्त सुझाव दिएको जानकारी दिए ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफूसँग भएको सिमित स्रोत र साधनको बावजुद पनि विपद् व्यवस्थापनको लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।
उनले सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आवश्यक चाहिने सम्पूर्ण औजार र समग्री, आवश्यक तालिमलाई समयानुकुल बनाउनुपर्नेमा जोड दिए ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राहत वितरण स्थानीय सरकारको मातहत वितरण गर्नुपर्ने, भत्किएका सडकहरुलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले संयुक्त रुपमा निर्माण गर्ने, अस्थायी निवासको लागि पाउने रकम स्थानीय पालिकाको सिफारिसमा वितरण गर्नुपर्ने बताए ।
वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपद्को समयमा जतिसक्दो चाँडो भएका क्षतिहरुको यथार्थ विवरण संकलन गर्नुपर्ने बताए ।
उनले तीन वटै सरकार मिलेर दु्रत गतिमा जनतालाई सेवा दिने विषय बैठकमा राखेको जानकारी दिए ।








