विशेष महाधिवेशनका लागि २४ गतेभित्र हस्ताक्षर गर्नुस् : विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनको तयारीका लागि महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न आग्रह गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा प्रकाशित एक भिडियो सन्देशमा उनले महाधिवेशनका लागि हस्ताक्षर संकलनको प्रक्रिया सुरू गरेको र यसमा सहभागी हुन प्रतिनिधिहरूलाई अपिल गरेका छन् । शर्माले भने, ‘मैले व्यक्तिगत रूपमा फोन गरेर कसैलाई पनि हस्ताक्षर गर्न भनिसकेको छैन, तर मित्रहरूलाई भनेका छु, हस्ताक्षर गर्नुस !’

उनले यस प्रक्रियामा उठेका विरोध र प्रश्नहरूका बारेमा पनि प्रतिक्रिया दिएका छन् । केहीले विशेष महाधिवेशनको आयोजनाले पार्टीलाई झनै कमजोर बनाउने आशंका व्यक्त गरे पनि, शर्माले यसको विरोध गरेका छन् । उनले महाधिवेशनलाई पार्टीको सशक्तिकरणको मार्ग भनेर स्पष्ट गर्दै भने, ‘यसले पार्टीलाई कमजोर बनाउँदैन, बरु यसको परिणामस्वरूप पार्टी अझ बलियो हुनेछ ।’

शर्माले महाधिवेशनको प्रक्रिया विधिवत रूपमा अघि बढाइरहेको र २४ असोज भित्र हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरे । यसका लागि २६ असोजको बैठकअघि हस्ताक्षरसहितका निवेदनहरू दर्ता गरिने योजना रहेको उनले बताए ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आगामी २६ असोजदेखि शुरु हुँदैछ । यस बैठकमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले नियमित महाधिवेशनको विकल्पमा विशेष महाधिवेशन आयोजना गर्ने र नेतृत्व परिवर्तनको प्रस्ताव राखेका छन् । पार्टीको विधानअनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएपछि विशेष महाधिवेशनको आयोजनाको प्रक्रिया शुरु गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =