संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने तयारीमा एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालत जानेबारे छलफल चलाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जानेबारे छलफल भइरहेको जानकारी दिए । उनले यो कदम अनिवार्य र स्वाभाविक रहेको बताएका छन् ।

‘हामीले यो विषयमा गम्भीर छलफल गरिरहेका छौं । यस विषयमा नेकपा एमाले र कांग्रेस एकताबद्ध भएर अदालत जाने निर्णयमा पुग्नेछौं’ उनले भने ।

उनका अनुसार, अदालत जाने मोडेल र समय तय गर्न अझै केही छलफल बाँकी रहेको छ । ‘कुन दिन अदालत जाने भन्ने टुंगिन बाँकी छ । विभिन्न मोडेलहरू छन्, ती बारेमा पनि छलफल भइरहेको छ,’ गौतमले थपे ।

यसअघि, असोज १२ गते भक्तपुरको गुण्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि यो विषयमा छलफल गरिएको थियो ।

बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा विघटनको संवैधानिकता न्यायिक परीक्षणको आवश्यकता भएको उल्लेख गरेका थिए । ‘विगतका सर्वोच्च अदालतका फैसलाहरू हेर्दा प्रतिनिधि सभा विघटन संविधानसम्मत देखिँदैन । यसैले यसको संवैधानिकता परीक्षण हुनुपर्ने देखिन्छ’ उनले भनेका थिए ।

विघटित प्रतिनिधि सभामा ८० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्ने आठ वटा राजनीतिक दलहरूले पनि यो निर्णयको संवैधानिकतामाथि प्रश्न उठाएका छन् । यसकारण यो विषय अदालतमा जाँच गर्नु आवश्यक रहेको एमालेले तर्क गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =