ओली र लेखकलाई पक्राउ गर्न प्रधानमन्त्रीले गरिन मध्यरातमा छलफल, प्रहरीले जनाएन सहमति

काठमाडौं । जेनजी युवा आन्दोलनसँग जोडिएका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउको मागलाई लिएर सरकारमाथि दबाब बढेको छ ।

ओली र लेखकलाई पक्राउ गर्नुपर्ने माग बढिरहेकै बेला अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख सुरक्षा अधिकारीहरूसँग गहिरो छलफल गरेकी छन् ।

सोमबार बेलुकीदेखि मंगलबार बिहानसम्म, प्रधानमन्त्री कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग विस्तृत छलफल गरेकी छन् ।

यस दौरान, प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूको मागका साथै सुरक्षा स्थितिलाई कसरी सम्हाल्ने भनेर सबै पक्षसँग विचार विमर्श गरेकी थिइन् ।

आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकलाई पक्राउ गर्नुपर्ने जेनजी युवा समूहले सोमबार काठमाडौंको प्रहरी परिसरमा जाहेरी दर्ता गर्न प्रयास गरेको थियो । तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेन ।

त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग छलफल समेत भएको थियो । गृहमन्त्री अर्याल भने जाहेरी दर्ता गर्ने पक्षमा छन् । तर, प्रहरी अधिकारीहरूले यो मुद्दामा थप विवाद उत्पन्न नहोस् भनेर सूझबुझपूर्ण निर्णयमा पुग्नुपर्ने बताइरहेका छन् ।

सुरक्षा अधिकारीहरूले यो विषयमा न्यायिक छानबिन अघि बढिरहेको र यसमा उजुरी र पक्राउ गर्दा मुठभेड हुन सक्ने खतरा रहेको बताएका छन् । यद्यपि, प्रधानमन्त्री कार्कीले दोषीको कारबाहीका लागि कुनै पनि हलचलमा नपर्नुपर्ने र प्रत्येक घटनालाई कानूनी दायरामा ल्याउनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =