जेनजीले अख्तियार घेर्ने हल्ला, प्रहरी हाई अलर्टमा

काठमाडौं । काठमाडौँ उपत्यका पछिल्लो समय जेनजी आन्दोलनका कारण राजनीतिक रूपमा तरंगित बनेको छ । जेनजी अगुवा सुदन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गर्न दबाब दिएपछि स्थिति थप संवेदनशील बनेको हो ।

सोमबार गुरुङको समूहले काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीमा धर्ना दिएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ । जेनजी समूहको चर्को दबाबपछि सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित निवासमा सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक गरेकी छन् । ओली र लेखकलाई पक्राउ गर्ने जेनजीको माग र समग्र सुरक्षा स्थितिको समीक्षा गर्न बसेको उक्त बैठकमा कुनै ठोस निर्णय हुन नसकेको छलफलमा सहभागी एक उच्च सुरक्षा अधिकृतले बताएका छन् । ती अधिकृतका अनुसार बैठकमा विभिन्न विषयमाथि छलफल भए पनि निष्कर्षमा पुग्न सकिएन ।

सुरक्षा अधिकारीहरूले ओली र लेखकको विषय गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको निर्णयका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएको बुझिएको छ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै मंगलबार टंगालस्थित अख्तियार मुख्यालय घेर्ने हल्ला चलेपछि त्यहाँ पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । यसले राजधानीमा थप सुरक्षा संवेदनशीलता बढाएको छ ।

बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँका अस्थायी र स्थायी बिटमा कार्यरत प्रहरीलाई प्रभाग र वृत्तमा केन्द्रित हुन सर्कुलर जारी गरेको छ । उपत्यका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार साना युनिटमा कार्यरत प्रहरीलाई ‘स्ट्रेन्थ’ भएका युनिटमा जान निर्देशन दिइएको छ ।

भदौ २३ र २४ मा भएको प्रदर्शनपश्चात् सोमबार साँझदेखि पुनः सुरु भएको जेनजी मुभमेन्टका कारण उपत्यकाका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ । माइतीघर मण्डलालगायतका स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले हाल सबै सुरक्षाकर्मीलाई ‘स्ट्यान्ड बाई’ राखिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =