मनसुनको बहिर्गमनसँगै देशभर चिसो बढ्दै, पश्चिमी वायु सक्रिय

काठमाडौं । मुलुकबाट मनसुन बिस्तारै बाहिरिएसँगै देशभर चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको र पश्चिमी वायु सक्रिय हुन थालेकाले तापक्रममा गिरावट आएको जानकारी दिएका छन् ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार गण्डकी प्रदेशदेखि पश्चिमका अधिकांश भूभागबाट मनसुन हटिसकेको घोषणा गरिएको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ । देशका बाँकी भूभागमा भने मनसुनी वायुको कमजोर प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् लामिछानेले भने, ‘अब बिस्तारै तापक्रम कम हुन थालेको छ। बिहान-बिहान हल्का चिसो महसुस हुन थालेको छ।’ दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो बढ्न थालेको उनको भनाइ छ ।

अक्टोबर महिना लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि २१ डिग्री सेल्सियस थियो । ‘अब तापक्रम क्रमिक रूपमा घट्दै जान्छ,’ लामिछानेले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =