जेनजी मुभमेन्ट अलायन्सले माग्यो प्रेम राईको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गरेको छ ।
सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा, अलायन्सले राईको स्वेच्छिक राजीनामाको माग गरेको हो । अलायन्सले अनौपचारिक र विद्युतीय माध्यमबाट राजीनामाको माग गरेको विज्ञप्तिमा उल्लेख छ।
राईले राजीनामा नदिएको खण्डमा, मंगलबार बिहान १० बजे आयोगको कार्यालयमा निवेदन दर्ता गरिने र अन्य कार्यक्रमहरू पनि आयोजना गरिने बताइएको छ ।
अलायन्सले तत्कालीन केपी शर्मा ओली सरकारले संसदीय सुनुवाइ नगरी राईलाई प्रमुख आयुक्तको रूपमा नियुक्त गरेको थियो । यसका अतिरिक्त, राई विभिन्न विवादास्पद मुद्दाहरूमा मुछिएका छन् ।
राईको नाम नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिद प्रकरण जस्ता कुख्यात मुद्दामा जोडिएको आरोप पनि अलायन्सले लगाएको छ ।








