जेनजी आन्दोलनका भाइरल युवाले गरे जन्मदिने आमाको हत्या

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवादित भिडिओमा देखिने एक युवा आफूले जन्म दिएको आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेलाई प्रहरीले आमा ५५ वर्षीया राममाया कँडेलको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताएका छन् ।
एसपी रिजालका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानले पुष्टि गरेको छ । घटनास्थलबाट हतियारसहित अभियुक्तलाई नियन्त्रणमा लिइएको र प्रासंगिक प्रक्रियाअनुसार थप अनुसन्धान र आवश्यक कानुनी कारबाही थालिएको प्रहरीले जनाएको छ ।
यमबहादुर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका भिडिओहरूमा अत्याधिक भाइरल भएका थिए । ती भिडिओमा उनले सुरक्षा कर्मीसँग भनेका कतिपय तीखो वक्तव्यहरू सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएका थिए— ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु?… मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन,’ जस्ता अभिव्यक्तिहरू ती भिडिओमा सुन्न सकिन्छ ।








