भारतीय कप्तानबाट रोहित शर्मा बर्खास्त, फ्यान आक्रोशित

काठमाडौं । भारतीय क्रिकेटमा नयाँ तरंग ल्याउने निर्णय गर्दै बीसीसीआइले एकदिवसीय कप्तान रोहित शर्मालाई पदमुक्त गरेको छ । उनीकै स्थानमा युवा ब्याट्सम्यान शुभमन गिललाई कप्तान बनाइएको छ, जो टेस्ट टिमको नेतृत्व पनि गर्दै आएका छन् ।
अचानक गरिएको निर्णयले फ्यानदेखि पूर्व खेलाडीसम्मलाई आश्चर्यमा पारेको छ । यसै वर्ष च्याम्पियन्स ट्रफी जिताएका रोहितलाई राजीनामाको मौका समेत नदिई हटाइएको भन्दै समर्थकहरूले असन्तोष जनाएका छन् । ‘यो अपमानजनक निर्णय हो,’ सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रियाहरू आएका छन् ।
अष्ट्रेलियाविरुद्ध हुने तीन म्याचको एकदिवसीय श्रृंखलाका लागि गिललाई कप्तान बनाइएको हो । टिममा भने रोहितलाई ब्याट्सम्यानका रूपमा समावेश गरिएको छ । बीसीसीआइका प्रमुख चयनकर्ता अजित अगरकरले यो निर्णयलाई दीर्घकालीन रणनीति भन्दै औंल्याएका छन् । ‘हामी २०२७ को विश्वकप तयारीमा छौं । त्यसका लागि गिललाई कप्तानी अनुभव दिन आवश्यक छ,’ उनले प्रेसमिटमा भने ।
तर, फ्यानहरू यो तर्कसँग सहमत छैनन् । रोहितले ५६ वानडे म्याचमा ४६ जित (८१ प्रतिशत जीत दर) सहित भारतलाई च्याम्पियन्स ट्रफी जिताएका थिए । उनी अझै फिट र फर्ममा रहेको बताउँदै फ्यानहरूले बीसीसीआइमाथि प्रश्न उठाएका छन् । ‘ट्रफी जिताउने कप्तानलाई यस्तो व्यवहार किन ?’ एक प्रयोगकर्ताले लेखे ।
बीसीसीआइभित्रै विभाजन
भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआइभित्र कप्तानी परिवर्तनका विषयमा दुई धार बनेका थिए । एकथरिले रोहितलाई निरन्तरता दिनुपर्ने बताइरहेका थिए भने अर्को समूह २०२७ विश्वकपलाई लक्षित गर्दै गिललाई अग्रसर गराउन चाहन्थे । अन्ततः दोस्रो पक्ष हाबी भएको बताइएको छ ।
अगरकरका अनुसार तीन फरक कप्तान (टेस्ट, टी–२० र वानडे) हुँदा रणनीतिक समन्वयमा कठिनाइ भइरहेको थियो । त्यसैले वानडे र टेस्ट दुबैमा गिललाई नेतृत्व दिने निर्णय गरिएको हो ।
फिटनेस र उमेर बने कारण ?
टाइम्स अफ इन्डियाका अनुसार बीसीसीआइले रोहितको फिटनेस र हालको फर्ममाथि प्रश्न उठाएको छ । पछिल्लो ६ महिनामा उनी नियमित खेलिरहेका छैनन् । यद्यपि, रोहितलाई औपचारिक रूपमा जानकारी नदिई निर्णय गरिएको भन्दै फ्यानहरू आक्रोशित छन् ।
हाल ३८ वर्षीय रोहितको उमेर २०२७ को विश्वकपसम्म पुग्दा ४० हुने भएकाले बीसीसीआइले दीर्घकालीन सोचका साथ नयाँ कप्तान रोजेको बताइएको छ ।
सन्न्यासबारे अड्कलबाजी
रोहितले अझै प्रतिक्रिया दिएका छैनन् । तर, सामाजिक सञ्जालमा उनको सन्न्यासबारे चर्चा तातिएको छ । केही भारतीय मिडियाले बीसीसीआइले उनलाई अष्ट्रेलिया सिरिजअघि नै सन्न्यास लिन दबाब दिएको दाबी गरेका छन् ।
तर, उनको नजिकका स्रोतका अनुसार रोहितले अझै २०२६ को टी–२० विश्वकपसम्म खेल्ने इच्छा व्यक्त गरेका छन् । उनले हालैको जिम भिडियोमा भनेका छन्, ‘म फेरि फर्किंदैछु, राम्रो लाग्छ !’ — जसले फ्यानहरूलाई आशा दिएको छ कि हिटम्यानको ब्याट अझै चुप लाग्ने छैन ।
१९ अक्टोबरदेखि सुरु हुने अष्ट्रेलियाविरुद्धको सिरिजमा शुभमन गिल पहिलोपटक एकदिवसीय कप्तानका रूपमा मैदानमा उत्रनेछन् । रोहित भने टिममा रहनेछन्, तर भूमिकाले फरक मोड लिनेछ — कप्तान होइन, केवल ब्याट्सम्यानका रूपमा । अब प्रश्न एउटै छ— रोहितको ब्याट फेरि गर्जनेछ कि ?








