वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायम छ : डा.उप्रेती

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुन अन्त्यतिर पुगेको बताएका छन् । उनले वर्षा नरोकिएर घाम लागेपनि सडक क्षति र पहिरो जोखिम भने अझै कायम रहेको बताए ।

उनले मनसुन बाहिरिने बेलामा पूर्वी नेपालमा भएको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पुर्‍याएको उल्लेख गरे ।

पछिल्ला वर्षातका कारण धेरै सडक भत्किएको, कतिपय राजमार्गमा चिरा परेकोले पहिरोको जोखिम अझै कायम रहेको उनको भनाई छ । घाम लागेपछि माटो सुक्दै जाँदा चिरा बढ्ने र सडक भासिने सम्भावना भएकोले राजमार्गहरूमा अझै सर्तकता आवश्यक रहेको उनले बताए ।

उनकाअनुसार काठमाडौं उपत्यकाका लगायत आसपासका क्षेत्रमा पानी पर्न रोकिएकोले नदीहरूको सतहमा तत्काल बाढीको खतरा भने घट्दै गएको छ ।

पूर्वी क्षेत्रमा सक्रिय रहेको मौसमी प्रणाली क्रमशः बाहिरिन लागेको र त्यसको असर आईतवार साँझसम्म घट्ने उहाँले जानकारी दिए । पश्चिम नेपालमा यस वर्षाको उल्लेख्य प्रभाव नपरेको र आगामी सोमवार र मंगलवार सुदूरपश्चिममा सामान्य प्रभाव मात्र देखिने सम्भावना रहेको पनि उनले बताए ।

मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभाव भने देखिन सक्ने सम्भावना भएको उनको भनाई छ । बुधवारदेखि सबै क्षेत्रमा मनसुन विस्तारै बाहिरिने भएकोले किसानले धान भित्र्याउन सक्ने उनले बताए ।

उनले मौसमसम्बन्धी पूर्वसूचना महत्वपूर्ण रहेको बताए । जल तथा मौसम विभागले समयमा नै जारी गरेको मौसम पूर्वानुमान र चेतावनीका कारण ठूलो धनजन क्षति हुनबाट जोगिएको उनको भनाई छ ।

आगामी दिनमा पूर्वसूचना प्रणालीलाई व्यवस्थित र विकास गरि सबै क्षेत्रमा यसको प्रभाव पुग्ने गरि काम गर्न आवश्यक रहेको उनले बताए । व्यवस्थित र प्रविधिमैत्री पूर्वसूचना प्रणाली विकास गर्न सरकारले थप लगानी गर्न जरुरी रहेको उनको भनाई छ ।

उनकाअनुसार बदलिँदो जलवायु र प्रविधिको युगमा एआई (कृत्रिम बुद्धिमत्ता) जस्ता प्रविधिको उपयोग गरेर पूर्वसूचना प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

मौसमसम्बन्धी सूचना संवेदनशील विषय भएकोले यसमा दीर्घकालीन लगानी गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =