उपत्यकाका जोखिमयुक्त क्षेत्रमा सशस्त्रले सुरु गर्‍यो गस्ती र माइकिङ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका अधिकांश भू-भागमा भारी वर्षा र केही स्थानमा अतिभारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित मनसुनजन्य विपदको जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले सक्रियता बढाएको छ । शुक्रबार साँझदेखि नै काठमाडौं उपत्यकाका जोखिमयुक्त स्थानहरूमा सशस्त्र प्रहरीले गस्ती (पट्रोलिङ) र माइकिङ सुरु गरेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, चोभार, बल्खु, बालाजु, माछापोखरी र बनस्थलीजस्ता क्षेत्रहरूमा विशेष निगरानी राखिएको छ । खोला किनार तथा डुबानको सम्भावना रहेका इलाकाहरू पहिचान गरी त्यहाँका बासिन्दालाई सुरक्षित रहन र कुनै पनि आपतकालीन अवस्थामा तत्काल उद्धारका लागि १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देशभरका सबै युनिटलाई विपद पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक स्रोत साधनसहित तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । विपदको अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले गोताखोर, विपद उद्धार तालिम प्राप्त जनशक्ति, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्विपमेन्ट र एम्बुलेन्स लगायतका उपकरणहरूलाई तयारी अवस्थामा राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =